काभा महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा इरानले नेपाललाई २५–२०, २५–१५ र २५–११ ले हराएको हो।

पहिलो सेटमा नेपालले प्रारम्भमा ६–४ को अग्रता लिँदै राम्रो सुरुवात गरे पनि सेटको बीचतिर इरानले खेलमा फर्किँदै १०–९ को अवस्थामा अग्रता लिएको थियो। त्यसपछि इरानले लगातार अंक जोड्दै २५–२० ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो।

दोस्रो सेटमा इरानले सुरुवातदेखि नै दबाब बनाउँदै ५–२ को अग्रता लिएको थियो। नेपालले ७–७ को बराबरीमा खेल फर्काए पनि त्यसपछि इरानले लगातार अंक जोड्दै २५–१५ ले सेट जित्यो।

तेस्रो सेटमा इरान पूर्ण रूपमा हावी रह्यो। ३–० बाट अग्रता लिएको इरानले १७–७ सम्म एकतर्फी खेल प्रस्तुत गर्दै अन्ततः २५–११ ले सेट जित्दै खेल ३–० ले आफ्नो पक्षमा पार्‍यो।

यस हारसँगै नेपालले अब तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा काजकिस्तानले भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

नेपालले अब तेस्रो स्थानका लागि हुने खेलमा आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ।