चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । पर्वतको कुस्मामा भइरहेको छायांकनका क्रममा घोडाबाट खस्दा उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।

गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु गरिएको थियो । करिब १५ दिनको कार्यतालिका सकिएपछि बुधबार एक दृश्य छायांकन गर्ने क्रममा घोडा चढ्दा सन्तुलन बिग्रिएर बराल दुर्घटनामा परेका हुन् ।

निर्माण टिमका अनुसार प्रारम्भिक जाँचपछि उनको दाहिने नाडीमा फ्याक्चर देखिएको छ । त्यसपछि उनलाई पोखरामा लगेर प्राथमिक उपचार गर्दै प्लास्टर गरिएको छ ।

मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सरोज पौडेलले कलाकारको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताएका छन् ।

उनका अनुसार चिकित्सकले विजय बराललाई कम्तीमा ३५ देखि ४० दिन पूर्ण आराम गर्न सुझाव दिएका छन् । त्यसपछि मात्र बाँकी छायांकन आगामी असार १५ गतेपछि सुरु गरिने तयारी गरिएको छ ।

अभिनेता विजय बरालले पनि दुर्घटनापछि आफ्नो स्वास्थ्यप्रति ध्यान दिनुपर्ने अवस्था आएको भन्दै केही समय आराममा रहने बताएका छन् । उनले टिमको छायांकन तालिका प्रभावित भएकोमा दुःख व्यक्त गर्दै छिट्टै काममा फर्किने आशा व्यक्त गरेका छन् ।

बरालले आफ्नो स्वास्थ्य अवस्थाका कारण केही अन्य चलचित्रको छायांकन तालिकामा पनि असर पर्न सक्ने संकेत गरेका छन् ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा रहेका छन् । छायांकन रोकिएसँगै निर्माण टिमले नयाँ तालिका पुनः व्यवस्थापन गर्ने तयारी गरेको छ ।