चितवन, ।। टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलोपटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ ।
दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी र पुनःपुल्चोक पुगेर तथा अर्को पुल्चोकबाट सुरु भई आँपटारी केन्द्रीय बस टर्मिनल हुँदै पुनःपुलचोकसम्म पुगी निःशुल्क सेवा प्रदान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टीकाको दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरी सर्वसाधारण जनतालाई राहत दिन प्रयास गरिएको हो ।
टीका लगाउने समयमा अन्य सवारीसाधन कम चल्ने भएकाले यात्रुको आवतजावतमा केही हदसम्म सहयोग पुगेको बताउँदै उनले भने“पहिलोपटक यहाँ प्रहरीको निःशुल्क बस सेवा सञ्चालन हुँदा यात्रुमा खुसी छाएको छ । नागरिक तहबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । आगामी वर्षमा केही बस थपगरी भरतपुर महानगरको अझ ठूलो क्षेत्रलाई समेटेर दसैैँको प्रमुख दिनमा निःशुल्क बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता बोध भएको छ ।”
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्